Hamroprayas
राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ  : पूर्वराजा ज्ञानेन्द्र शाह

भैरहवा,पुस १९

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अब नयाँ अध्यायको सुरुवात गर्नै पर्ने अवस्था आएको उद्घोष गर्नुभएको छ । देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै उहाँले जनता एक ठाउँमा उभिन अपिलसहित चलिरहेको व्यवस्थामा ब्यापक परिवर्तन गर्नै पर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

आज भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उहाँले नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको बताउनुभयो  । ‘म कतै अन्त गएको छैन । सदा–सदा नेपालीको साथमा छु । नेपालभित्रै छु ।’–पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन परेकोप्रति चिन्ता व्यक्त गर्दै पूर्व राजा ज्ञानेन्द्र यस्तो अवस्थाको अन्त्य हुर्नेमा जोडदिनुभयो । ‘बीच बीचमा राजा आउँ देश बचाउ’ भन्ने दर्शदिर्घबाट गुञ्जीएको आवाजसँगै पूर्व राजा ज्ञानेन्द्रले अब सबै एक ठाउँमा जुट्ने बेला भएको उल्लेख गर्नुभयो ।  


‘वीरता, पराक्रम, पुरषार्थ र उच्च मूल्य–मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेका छन् ।’–पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो, ‘राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं ।’  यसरी खिइँदै जानु किमार्थ राम्रो नभएको उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्रले नयाँ आध्याय सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । 

विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहिबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी हुनुभएको थियो । विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाकी तथा साँस्कृतिक प्रस्तुती गरेका थिए । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आईपुग्नुभएको थियो । उहाँ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिनुभएको थियो  । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update