Hamroprayas
राष्ट्रपति पौडेल शुक्रबार बुटवल आउँदै 

बुटवल, पुस १९
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउँदैहुनुहुन्छ । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि पौडेल बुटवल आउन लाग्नुभएको हो । राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउनेछ ।सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।  उहाँका अनुसार राष्ट्रपति पौडेल दिउसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुनेछ ।    

किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो । किल्लाक्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा वि.सं.१८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update