Hamroprayas
पूर्व राजा ज्ञानेन्द्रले रुपन्देहीमा आएर भेटघाट तथा गतिविधिलाई सक्रिय बनाउदै

बुटवल ,पुस १८
यसै साता रुपन्देही आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियता बढाउनुभएको छ । २ साताको समय लिएर यस क्षेत्रका  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किनुभएका पूर्व राजा ज्ञानेन्द्रले रुपन्देहीमा आएर भेटघाट तथा गतिविधिलाई सक्रिय बनाउनुभएको हो । 

यसैबीच बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहितले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवा आई भेट गरेका छन् । भेटका लागि लिङ्देन र मिश्रसहित राप्रपा महामन्त्री धवलशमशेर जबरा, सांसद दीपक सिंह सहभागी हुनुभएको थियो ।  भेटका क्रममा पूर्वराजा शाहले आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्दै आएको बताउनुभएको छ । 
भेटपछिको तस्बिर राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले बुधबार सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ  । वरिष्ठ उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजा शाहले उक्त भेटका क्रममा आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने भएको सन्देश पनि दिएका छन्।  ‘हामी सबैले धेरै देख्यौँ÷बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु’, उहाँले भन्नुभयो , ‘मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरा लागि बराबर छन्।’

पूर्वराजा शाह गत पुस ८ गते दुई साताका लागि भैरहवा आउनुभएको हो ।  अनौपचारिक भेटघाटमा व्यस्त शाहाले विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्लाएक्लै भेट गर्नुभएको छ ।  त्यहीक्रममा राप्रपा नेतृत्वसँग पनि उहाँले संवाद गर्नुभयो ।  गत शनिबार उहाँले शिवराज नगरपालिका–३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभयो ।  नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको शालिक शिवराज नगरपालिकाले निर्माण गरेको हो ।


यसैगरी भोली बिहीबार भैरहवामा पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रम छ। नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी गरिएको छ ।   पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयेन्द्रसहित भैरहवामा हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update