Hamroprayas
पाल्पा तिनाउमा इको शिक्षकको दायित्व र संस्थागत अभिमुखीकरण कार्यक्रम

पाल्पा,पुस १८
पाल्पा तिनाउका आधारभूत तथा माध्यमिक विद्यालयमा गठित विद्यार्थी वातावरण समूह ( ईको क्लव) का ईको शिक्षकका लागि “इको शिक्षकको दायित्व र संस्थागत अभिमुखीकरण कार्यक्रम“  बुधवार ,दोभानमा सम्पन्न भएको छ ।  

कार्यक्रममा सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाको संस्थागत अभिमुखीकरण र ईको शिक्षकको दायित्वका बारेमा संस्थाका अध्यक्ष दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो  । उहाँले आफ्नो संस्थाले विगत २२ वर्षदेखि हालसम्म वन, वातावरण  र जैविक विविधता सम्बन्धि सचेतीकरण, आयआर्जनमा  लगानी र खानी एवम् पानीका बारेमा पैरवी गर्दै आएको बताउनुभयो । 

सोही कार्यक्रममा “ईको क्लवमा बालसहभागिता र हरित विद्यालयका“ सम्बन्धमा सेन्स नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सहजीकरण गर्नुभएको थियो  । यसैगरि कार्यक्रममा ईको क्लवका केन्द्रीय संस्थापक अध्यक्ष दीपेन्द्र बडुवालले बर्दियाको जगदम्वा माविमा पढ्दाआफूहरुले सरसफाइ अभियान सञ्चालन गरि सिकाई अनुभव हासिल गरेको बताउनुभयो । त्यसैगरी आफूले आफ्नो क्षमता अभिवृद्धिमा ईको क्लवलाई पहिलो सहयोगी क्लवका रुपमा लिएको बताउनुभयो । उहाँले आफ्नो अनुभव र अनुभूति प्रकट गर्दै ईको क्लवमार्फत संरक्षणमा बालबालिकालाई उत्प्रेरित गर्न ईको शिक्षकलाई अनुरोध गर्नुभयो । 

कार्यक्रम सहयोगी संस्थाका रुपमा बुटवल उपमहानगरपालिकाका कर्मचारी ठगिश्वर पोखरेलले तिनाउ जलाधार संरक्षणका लागि माथिल्लो तटीय क्षेत्रका ईको क्लव,वन समूह र नागरिक समाज लाग्नुपर्ने बताउनुभयो । सहभागी विद्यालयका तर्फबाट पवित्रा गाहा ( कल्याणी आधारभूत विद्यालय) र खडकबहादुर रायमाझी ( तिलोत्तमा मावि) ले सिकाईलाई विद्यालयसम्म पुराउने अठोट गर्नुभयो । 
कार्यक्रममा २० वटा विद्यालयका ईको शिक्षकहरुको सार्थक सहभागिता रहेको थियो ।

खडकबहादुर रायमाझीको संयोजकत्वमा १३ सदस्यीय सेन्स नेपालको पालिका स्तरीय सञ्जाल समेत गठन गरिएको छ । 
सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पा र सेन्स नेपालको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत,महासचिव गणेश रास्कोटीले धन्यवाद ज्ञापन र सहसचिव सावित्रा गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सेन्स नेपालका उपाध्यक्ष भेषराज पोखरेलले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update