Hamroprayas
बन्दीपुर पर्यटन क्षेत्रको प्रचार गर्न पालिका र व्यवसायीको नेतृत्वको टोली रुपन्देहीमा

बुटवल,पुस १२
तनहुँको बन्दीपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा आएको टोलीले रुपन्देहीका विभिन्न औद्योगिक तथा पर्यटन व्यवसायीसँग अन्तरसंवाद गरेको छ । बिहीबार रुपन्देही उद्योग संघले टोलीलाई सम्मान तथा स्वागत गर्दै उद्योगी व्यवसायीले त्यहाँको पर्यटन प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

तनहुँको बन्दीपुर पर्यटन क्षेत्रको विकासका लागि नमुना क्षेत्र हो अहिले उसले सबै क्षेत्रमा यसको थप प्रचारप्रसारका लागि हिंडेको छ । टोलीमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, होटल संघ बन्दीपुरका अध्यक्ष संगिता प्रधानसहित पालिका तथा सो क्षेत्रमा रहेका पर्यटन व्यवसायी रहेका छन् । उहाँहरुले बन्दीपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटन क्षेत्रका विकासका लागि आफ्ना कार्ययोजना तथा सेवाग्राहीले त्यहाँ जाँदा पाउने सेवासुविधाबारे जानकारी दिँदै हिड्नुभएको हो । 

रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा र महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष बोनिन पिया, प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले पर्यटन क्षेत्रको विकासबाट नै आर्थिक समृद्धि हुने भएकाले ध्यान दिन आग्रह गर्नुभयो । 

उहाँहरुले सबै क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएकाले अन्य क्षेत्रभन्दा महंगो दररेट नगराउन र आफूले दिनसक्ने सेवाको मूल्य पहिले नै जानकारी दिन आग्रह गर्नुभयो ।बन्दीपुरको टोलीले बिहीबार नै अन्य व्यवसायिक संस्थासँग पनि अन्तरसंवाद गर्दै अन्य जिल्लामा जाने कार्यक्रम तय भएको अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।  
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update