Hamroprayas
तिनाउमा सहकारी र अबको बाटो विषयक छलफल

बुटवल, मंसिर २२
तिनाउ गाउँपालिका,दोभान,पाल्पा  र मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड,दोभानको संयुक्त आयोजनामा तिनाउका सहकारी र अबको बाटो विषयक् छलफल तथा सहकारी समन्वय समिति गठन कार्यक्रम शुक्रवार दोभानमा सम्पन्न भएको छ । 

कार्यक्रममा सहकारी अभियन्ता दलबहादुर गुरुङले तिनाउमा रहेका  सहकारीको वर्तमान अवस्था,देखा परेका समस्या, समाधानका उपायहरु र अबको बाटो सम्बन्धमा सहजिकरण गर्नुभएको थियो । सहभागीहरुले आफ्ना सहकारीमा देखा परेका समस्याहरु र समाधानका उपायहरुका बारेमा छलफल र खोजी गरेका थिए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि प्रेम श्रेष्ठले तिनाउमा रहेका सहकारीहरुमा देखा परेका वा पर्न सक्ने अवस्थालाई मध्यनजर गरि आयोजना गरिएको उक्त कार्यक्रम फलदायी भएको उल्लेख गर्नुभयो  । उहाँले गठित सहकारी समन्वय समितिमार्फत आफ्नो पालिकाले सहकारी शिक्षा, सचेतना कार्यक्रम र व्यवस्थापनमा जोड दिने बताउनुभयो । 

त्यसै गरि विशिष्ट अतिथिका रुपमा रहेका तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउमा रहेका सबै सहकारीहरुको अनुगमन र नियमनमा जोड दिने बताउँदै पालिकाले सहकारीलाई उचित वजेटको व्यवस्थापन गरिदिने बताउनुभयो ।साथै कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले सहकारीको उत्तम सञ्चालन र  व्यवस्थापनका लागि सहकारीहरुका बीच गोष्ठी, सेमिनार,छलफल र अन्तर्कियात्मक कार्यक्रम जरुरी रहने बताउनुभयो । 
कार्यक्रममा सहभागीहरुका तर्फबाट दिलकुमारी रोका, ओमबहादुर सुनारी,रवीन्द्र पौडेल,कमल ढकाल लगायतले सहकारी सम्बन्धि यस्ता छलफल कार्यक्रम आवश्यक रहेको बताउनुभयो । समस्याहरुलाई समाधान गर्न यस्तै छलफल अनिवार्य हुने समेत उल्लेख गरेका थिए  ।  

सहभागीहरुले रवीन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय सहकारी समन्वय समिति,तिनाउ गठन गरेको छ । जसमा सहसंयोजक दिलकुमारी रोका,सचिवमा कमल ढकाल, कोषाध्यक्षमा ओमबहादुर सुनारी र सदस्यहरुमा भगवती बस्याल,नरेन्द्र थापा र तिलबहादुर राना चयन भएका छन् ।  जसले ६ महिनाभित्र विधान तयार गरि दर्ता गर्ने ,पालिकासँग निरन्तर सम्पर्क र समन्वय गर्ने अनि नियमित बैठकमा जोड दिने छ ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update