Hamroprayas
प्याब्सन लुम्बिनीको  लोकनृत्यमा बांकेको एन्जल्स स्कूल प्रथम

बुटवल , मंसिर १७ 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी  लुम्बिनी प्रदेश समितिद्वारा आयोजित अन्तरविद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता रुपन्देहीमा सम्पन्न भएको छ । तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा भएको फाइनल प्रतियोगितामा बांकेको एन्जल्स स्कूल प्रथम, रुपन्देहीको तिलोत्तमास्थित कुंवरवर्ती बोर्डिङ स्कूल द्वितीय, रुपन्देहीकै दुर्गा शैक्षिक गृह तृतीय र कृष्णसार विद्या निकेतन बर्दिया सान्त्वना भएका छन् ।

गत असोजदेखि पालिकास्तरबाट छटनोट हुंदै शुरु भएको प्रतियोगितामा जिल्लास्तर हुंदै प्रदेशस्तरमा आइपुग्दा लुम्बिनी प्रदेशका ८ जिल्लाबाट १४ विद्यालयका नृत्य टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यालयले क्रमशः २० हजार,१५ हजार,१० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालयका नृत्य टिमहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कोरोना महामारीका कारण केही समय विद्यार्थीहरुमा एक खालको मानसिक डर त्रास उत्पन्न भएको र शैक्षिक गतिविधि समेत शिथिल बनेको सन्दर्भमा प्याब्सन केन्द्रले विद्यार्थीलाई मनोरन्जनात्मक क्रियाकलापमा सहभागी गराई मानसिकरुपमा तन्दुरुस्त बनाउने उद्देश्यले राष्ट्रियस्तरमै लोक नृत्य प्रतियोगिता शुरु गरेको प्याब्सल लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले बताउनुभयो । यो प्रतियोगिताले लुम्बिनी प्रदेशका सबै पालिका,जिल्ला र प्रदेशको ऐतिहासिकता, लोक संस्कृति, परम्परा र भेषभुषालाई नृत्यका माध्यमबाट विद्यार्थीहरुले उजागर गरेको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको उपमेयर जगेश्वरदेवी चौधरीले बताउनुभयो । कार्यक्रम गर्न वनबाटिकाले प्रतियोगी छात्र छात्रा र आयोजकलाई निशुल्करुपमा कार्यक्रमस्थल र प्रवेश टिकट निशुल्क उपलब्ध गराएका थिए । 
प्रतियोगिताको निर्णायकमा राष्ट्रिय नाचघर जमलका निवर्तमान महाप्रवन्धक राजेश थापा र सुरेन्द्र देशराज रहेका प्याब्सन लुम्बिनीका सहसचिव कृष्ण शर्माले जानकारी दिनुभयो ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update