Hamroprayas
अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको मनपरी प्रयोग

बुटवल,मंसिर १३
“तिम्रो भनाइसँग म सहमत हुनैपर्छ भन्ने छैन, तर तिम्रो अभिव्यक्ति स्वतन्त्रताको लागि जीवनभर प्रतिरक्षा गरिरहने छु ।” यो भनाई हो फ्रान्सेली लेखक÷ दार्शनिक भोल्टेयरको । त्यस्तै हाम्रो पूर्वीय मूल्यमान्यतामा पनि ‘वादे वादे जायते तत्वबोध’ आत्मसात गरिएको छ ।

०६३ पछि ०७२ सम्मको उकुसमुकुसपूर्ण राजनीतिक संक्रमण पार गरेर शान्ति र स्थिरताको अपेक्षा गरेको नेपाली समाज यतिबेला फेरि भयभित र त्रसित हुँदैछ । अर्थतन्त्र सुस्ताएको छ । युवा पुस्तामा चरम निराशा छाएको छ । एउटा लय बसेर गतिमान बन्दै गरेको सामाजिक सद्भाव पुनः खल्बलिने हो की भन्ने चिन्ता र चासो छाएको छ । पार्टी, नेता जुट्दा जुट्ने, उनीहरु फुट्दा फुटेर तुरुन्तै कित्ताकाट भएर हिजोसम्म महिमामण्डन गरेका आप्mनै नेताको उछितो काढ्ने परिदृश्य निर्माण हुनु बिडम्बनापुर्ण हो । आजभोलि हामी देख्दैछौं –स्वतन्त्र हुनुपर्ने बुद्धिजीविहरु स्वार्थबाट अभिप्रेरित भएर पार्टी, नेता र गुट सापेक्ष भैदिदा सर्वसाधारण अलमलमा छन् । बौद्धिक चिन्तन गर्ने र निस्वार्थ भावले खबरदारी गर्ने नागरिक समाज पनि पार्टि सापेक्ष छन् । पत्रकारिता जगत पनि पीतपत्रकारिता उन्मुख  देखिन्छ । समाचार, विचार तथ्यपरक, सन्तुलित र विश्वसनिय छैनन् । आम नागरिकमा अन्योल र त्राश बढ्दो छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दुईवटा आवधिक निर्वाचन सम्पन्न भैसकेका छन् । तर राजनीति झनझन अस्थिरता र अन्योलताको भूमरीमा धकेलिदै गएको छ । पछिल्लो राजनीतिक,सामाजिक घटनाक्रमले एक किसिमको तरंग पैदा भएको छ । यहि कुरालाई लिएर मान्छेहरु अहिले पक्ष विपक्षमा उत्रिएका छन् । व्यवस्था परिवर्तन सहितका विचार सम्प्रेषण भैरहेका छन् । मानिसहरु आप्mना विचार सामाजिक सञ्जाल मार्पmत् अभिव्यक्त गरिरहेका छन् । लोकतन्त्रमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता हुन्छ । बोल्न, लेख्न, विरोध गर्न हामी स्वतन्त्र छौं । के बिरोध गर्ने नाममा जसलाई जेपनि भन्न, लेख्न र बोल्न पाईंन्छ त ?

सरकारले हालसालै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मार्पmत् बेनामी वा छद्मभेषी पहिचान सहित फेक आइडी, पेज, ग्रुप सिर्जना गर्न रोक लगाएको छ । कसैको तस्वीर एनिमेसन, मोन्टाज मार्पmत विकृत रुपले हेरफेर गरेर सामाजिक सञ्जालमा हाल्न तथा कुनै किसिमले होच्याउने गरी ट्रोल गर्न निषेध गरेको छ । यहिं कुरालाई लिएर यतिबेला नेपाली समाज तरङ्गित र बिभाजित बनेको छ । खास गरेर बिवादास्पद एप्लिकेसन टिकटक बन्दलाई लिएर सरकारी कदमको पक्ष विपक्षमा मत अभिव्यक्त भैरहेका छन् । तत्कालीन केपी ओली सरकारको पालामा नै यस खालको पहल हुँदा व्यापक विरोध भएर सरकार पछि हटेको थियो । जोजसले त्यतिबेला उक्त कदमको चर्को विरोध गरेका थिए अहिले तिनैले बर्तमान सरकारको कदमको प्रतिरक्षा गरिरहेका छन् ।

मैले त्यतिबेला नै अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष हुँदैन यसका सिमा र बन्देजहरु हुन्छन्, सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित ढंगले सञ्चाल गरिनुपर्छ, सरकारले लिएको अग्रसरता ठिक हो भनेर लेखेको थिएँ । अहिले तत्कालीन सरकारी कदम र मेरो विचार सहि साबित भएको छ । बहस निषेध कि नियमन भन्ने कुरा जायज छ । पक्कै पनि हरेक कुराका सकारात्मक र नकारात्मक पाटा हुन्छन् । त्यसैले हठात निषेध भन्दापनि नियमन र नियन्त्रण हुनुपर्दछ । त्यसका लागि कानुनको जरुरत पर्दछ । 
के हो वाक तथा अभिव्यक्ति स्वतन्त्रता ?वाक स्वतन्त्रता स्वतन्त्र रुपले आप्mना विचार अभिव्यक्त गर्न पाउने अधिकार हो । यो प्राचीन ग्रीसबाट करिब २४०० बर्ष अघि आएको एउटा प्रजातान्त्रिक आदर्श हो । यसभित्र बोलिने वा लेखिने भाषा मात्र पर्दैनन् । कलात्मक रुपमा पनि विचार सम्प्रेषण गर्न सकिन्छ । यो मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रमा उल्लेखित आधारभुत मानव अधिकार हो । 

अभिव्यक्ति स्वतन्त्रता सापेक्ष हुन्छ । संविधानले पनि निरपेक्ष हुन्छ भनेर ब्याख्या गरेको छैन । हाम्रो संविधानले पनि धारा १७ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाइ मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाइ विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख गर्दै प्रतिबन्धात्मक वाक्यांशमा त्यस्तो अधिकार भएतापनि त्यस ब्यवस्थाले “नेपालको सार्वभौमसत्ता , भौगोलिक अखण्डता , राष्ट्रियता र स्वाधिनतामा वा संघीय इकाई वा विभिन्न जात जाति धर्म सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पर्ने , जातिय भेदभाव तथा छुवाछतुलाइ दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने” भन्नेकुरा स्पष्टरुपमा उल्लेख छ । त्यसैले आप्mनो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन नहोस् भन्ने ख्याल राखिनुपर्छ ।

संविधानको यस धाराको मर्म हरेकलाई त्यतिसम्म मात्र छुट हुन्छ जतिसम्म जाँदा अरुलाई दख्खल नपुगोस् भन्ने हो । जो कोहीलाई पनि आप्mनो हात हल्लाएर हिड्न स्वतन्त्रता हुन्छ तर अर्कालाई ठोक्किने गरि हिड्नु भनेको स्वछन्दता हुन्छ र यसो गर्नु सभ्य संस्कार र सभ्यता होईन । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको गहना र नागरिक चेतनाको अनिवार्य अवयव हो । साँचो स्वतन्त्रताको पर्याय हो र लोकतान्त्रिक व्यवस्थाको मापन गर्ने प्रमुख आधार हो । सिद्धान्ततः अभिव्यक्ति स्वतन्त्रतामा कसैले अंकुश लगाउन सक्दैन भनिए पनि व्यवहारतः अभिव्यक्ति स्वतन्त्रताको अधिकार अनियन्त्रित नै हुन्छ भन्न सकिदैन । यसका पनि सीमाहरु हुन्छन् र नागरिक समाजप्रति निर्वाह गर्नुपर्ने दायित्वहरु पनि हुन्छन् । तसर्थ स्वतन्त्रता कानूनको सीमाभित्र हुनुपर्छ । 

लोकतन्त्र भनेको लोकको शासन मात्र नभएर लोकको सम्मान पनि हो । लोकतन्त्रको सुन्दरता नै आलोचना÷प्रत्यालोचना हो । तर, चरित्र हत्या किमार्थ होईन । अरुको सम्मान गर्न नजान्नेले आपूm सम्मानित भएर बाच्न पाउनुपर्छ भन्न सुहाउँदैन । सार्वजनिक पद धारण गर्नेले आलोचना सहनै पर्छ तर उसलाइ ब्यक्तिगत र निजी मामिलामा दख्खल पुग्ने गरि गाली बेइज्जती गर्ने , टिकाटिप्पणी गर्न सभ्य समाजलाइ सुहाउदैन । दलका शीर्ष नेतृत्व र राष्ट्रप्रमुखलाई सार्वजनिक रुपमा सामाजिक सञ्जाल मार्पmत् ट्रोलको शिकार बनाउनु, तुच्छ गालिगलौज गर्नु कसैका लागि पनि शोभनिय हुन्न । राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताको व्यक्तिगत चरित्रमा प्रश्न उठाउने अधिकार कसैलाइ पनि छैन ।  यस किसिमका गालिगलौज र लाञ्छना अशिष्टताको पराकाष्ठा हो । अनैतिक र अराजनीतिक समेत हो । 

सामाजिक संजालमा देखिने गरेका बिकृति र बिसंगतिपूर्ण विचार अभिब्यक्ति र पोष्टहरु सकारात्मक भन्दा नकारात्मक देखिन्छन् । स्वस्थ आलोचना र समालोचना भन्दापनि निन्दा केन्द्रित देखिन्छन । आलोचना र विरोध नगरिने र विकल्प नखोजिने कुनै कर्म, धर्म, शास्त्र, शासक, सृजना कोही र केही पनि छैन । त्यसैले इमान्दारीपूर्वक आप्mनो काम गर्नुपर्छ । सिमलको रुखमुनि उभिएर आपको खोजी गर्ने र आप नपाएको रिसले सालको रुखलाई सराप्नेको पछि लाग्नु समयको बर्बादी मात्रै हो । सामाजिक सञ्जाल अहिलेको समयमा अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्ने सर्वाधिक शक्तिशाली माध्यम भएको छ । तर अनैतिक कार्य गर्ने, अदालतको अवहेलना हुने, अर्काको चरित्र हत्या गर्ने र अवाञ्छित लाञ्छना लगाउन प्रतिबन्ध गरेको छ यसको नियमन गर्ने साइबर कानूनले भन्ने कुरा पनि बिर्सनु हुन्न । लोकतन्त्रको जननी बेलायतमा समेत सामाजिक संजाल जथाभावी प्रयोग गर्नेलाइ पाँचहजार पाउण्ड जरिवाना र जेलको समेत ब्यवस्था छ । हाम्रो लोकतन्त्र त्यति पुरानो होइन । यसमा अभ्यस्त हुन र प्रणालीलाई परिस्कृत गरेर लैजान हामीले धेरै कुरा सिक्नुपर्ने हुन्छ ।

हामी आपैmले लडेर ल्याएको यो सर्वोत्तम व्यवस्थाको मर्म माथि नै आघात पुग्नेगरी प्रस्तुत हुनु भनेको आपैmमाथी प्रहार गर्नु हो । व्यवस्था विराधी हर्कत गर्नेहरुका अतिरञ्जित हर्कतका पछि लाग्नु मुर्खता हो । आप्mनै खुट्टामा बञ्चरो हान्नु जस्तै हो । आकाशतिर फर्केर थुक्नुजस्तै हो । सामाजिक सञ्जालमार्पmत क्षणिक आत्मरतिमा रमाउन त सकिएला, फुर्सद कटाउन, कुण्ठा र आक्रोश पोख्न त सजिलै होला तर यसले कस्तो समाज निर्माण होला ? विचार गर्ने बेला भएको छ । तसर्थ हामी सबै अरु कसैको विचारमा म सहमत हुनै पर्छ भन्ने छैन, तर अर्काकोे अधिकार र स्वतन्त्रताको सम्मान गर्न सिक्नुपर्दछ । यो नै सभ्य सुसंस्कृत नागरिकको कर्तव्य हो ।
(लेखक लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा अध्यापन गर्छन्)
    

    
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update