Hamroprayas
तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान  

तिलोत्तमा ,मंसिर ३

तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा “तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०” जारी छ ।

महोत्सवमा मञ्च(स्टेज)को ठिक अगाडि ७८ वर्षीय वृद्ध गुल्मीका लेखनाथ ज्ञवाली  घाममा बस्नुभएको छ  । उहाँको वरिपरि दुई वटा गोरु घुमिरहेका हुन्छन । ज्ञवाली कोलमा उखु हाल्दै बस्नुभएको छ भने अर्घाखाँचीका बिष्नु अर्याल गोरु खेदिरहनु भएको छ । यो दृश्यले मेलामा अवलोकनका लागि आएका धेरै दर्शकको ध्यान आकर्षित गराएको छ ।

हिपत (हिमाल पहाड तराइ) फुड प्रोडक्सनले परम्परागत उखु कोल र खुदो पकाउने रसेटो नयाँ पुस्तालाइ देखाउने उद्देश्यले मेलामा राखेको हो । यो स्टलमा  रसेटोमा तताई राखेको तातोखुदो खान आउनेको संख्या बढिरहेको सञ्चालक हरिप्रसाद अधिकारीले बताउनुभयो ।बिदेशको बसाइ त्यागेर स्वदेशमै हिपत उद्योग संचालन गरेका अधिकारीले पुरानो प्रविधिका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले उखु पेल्ने कोल, हलमा नारिएका गोरु र खुदो तताउने रसेटो सहितको स्टल मेलामा राखिएको र यसले मेलामा आउने नयाँ पुराना पुस्ताको ध्यान केन्द्रित बताउनुभयो ।

“सबल अर्थतन्त्रको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन भएको मेलामा कृषिलाई विशेष प्राथमिकता राखेको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भन्डारी (माधव)ले बताउनुभयो ।मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताउनुभयो ।प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिनुभयो ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका स्टलहरू रहेका छन् ।आईतबार हेमन्त शर्मा, दिपक दर्लामी मगर, घनश्याम रिजाल, रेनु राना मगर, निर्मला गुरुङ, लालमाया थापा, राज केसीलगायतका कलाकारको प्रस्तुति रहेको सास्कृतिक समिति संयोजक धन बहादुर गुरुङले जानकारी गराउनुभयो ।

सोमबार र्यापर ओफिम, गायिका राधिका हमाल, शिलु भट्टराई, हास्यकलाकार दिनेस काफ्ले, गायक दामोदर बस्याल, गायिका ब्युटि रसाल, विन्दु थापा लगायतको प्रस्तुति रहने संघका कार्यालय प्रमुख लोकनाथ खनालले बताउनुभयो  ।

 


 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update