Hamroprayas
तिहार : प्रेम, सद्भाव, उज्यालो र उमङ्गको पर्व !

बुटवल, कार्तिक २७
यतिबेला हाम्रो ठूलो चाड तिहार आएको छ । यो पर्व पाँच दिनसम्म मनाइन्छ । कतिपय मानिसहरूले बुझ्ने प्रयास नै नगरी तिहारलाई ‘दीपावली’मा साँघुरो पारिँदै गरेको देखिन्छ । दीप+आवली = दीपावली अर्थात् बत्तीहरूलाई लहर मिलाएर राखिने भनिएको हो । यस अवधिमा गरिने कर्ममध्ये यो त एउटा कर्म हो । यो पर्व कृष्णपक्षमा पर्दछ । पर्वलाई, पर्वका रात्रीहरूलाई उज्यालो पार्न सुरुदेखि नै बत्ती बाल्नपर्ने भएकोले यी दिनहरूलाई एकमुष्ट रूपमा ‘दीपावली’ नै भन्ने पनि गरिएको छ । यद्यपि सिंगो पर्वको नामकरणको हिसाबले यो सही होइन, किन भने दीप—दीपहरूको, आवली—लस्कर (लहर)  दीपावली हो । धेरै बत्ती लहर मिलाएर बाल्नु एउटा काम अवश्य हो, तर यो पर्वको नाम नै दीपावली भन्न मिल्दैन ।

पौराणिक हिसाबले यो पर्व ‘यमपञ्चक’ हो । नेपाली विशिष्टतामा यो तिहार हो । क्रियाकलापका हिसाबले मनोरञ्जनका लागि तास खेल्ने, देउसिरे–भैलो खेल्ने, टीका–माला लाउने, राम्रो लाउने, मीठो खाने आदि विषयहरू यसमा पर्दछन् ।  
अब हामी तिहार मनाउने तयारीमा छौँ । तिहारको प्रसंग स्पष्ट छ । हामी नेपालीहरू तिहार पाँच दिनसम्म मनाउने गर्दछौँ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वको समुच्चयलाई ‘यमपञ्चक’ भनिएको छ । हामी अधिकांश नेपालीहरू भने यसलाई ‘तिहार’ भन्दै आएका छौँ ।  

भाषिक हिसाबले ‘त्यौहार’बाट बनेको जस्तो देखिने ‘तिहार’ नेपाली जनजिब्रोले उच्चारण गर्दछ । तिहार एक दिवसीय आयोजन होइन, यो कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने अर्थपूर्ण महोत्सव हो । यी पाँच दिन शास्त्रीय मान्यतामा ‘यमपञ्चक’ हो । यसका अनेकौँ आयाम मध्येको एउटा हो— यी पाँच दिन मृत्युका देवता ‘यम’ आफ्नी बहिनी ‘यमुना’को घरमा आएर बसेका थिए । यति व्यस्त व्यक्तित्वले आफ्नी बहिनीको घरमा बसेर विदा मनाएको हुनाले यमसँग बहिनी खुसी भइन् । र, सबैलाई यसै गर्न शुभेच्छा प्रकट गरिन् । यो कुरा अत्यन्त भावनात्मक विषय हो । दाजु—बहिनी बीचको प्रेमको उदाहरण हो । यसबाट हामी आजका दाजुभाइ—दिदीबहिनीले प्रेरणा लिनुपर्छ । तर ‘यमपञ्चक’सँग यति मात्र सम्बन्ध होइन । यसका अन्य आयामहरू पनि छन् । 
चाड—पर्वहरू आर्थिक तथा व्यापारिक महत्वका अवसर पनि हुन् । यी अवसरमा किनमेल बढी हुन्छ । यही कारणले यी पर्वको दायरा घर—परिवारमा मात्र सीमिति छैनन् । चाड—पर्वको प्रभाव बजारसम्म विस्तार छ । व्यापारीहरूले दसैँ, तिहार, छठ ...आदिका सन्दर्भमा उपहार सहितको प्रवद्र्धनात्मक विज्ञापन गर्दछन् । यी विज्ञापन केही पहिले नै गर्नु स्वाभाविक हो र ती विज्ञापनमा ती पर्वहरूको ‘शुभकामना’ पनि जोडिएर आउनु स्वाभाविकै हो । 
शुभकामना दिने क्रममा केही विकृति हुर्किरहेको देखिन्छ । दिनको १८—२० घन्टा फेसबुक आदि सामाजिक सञ्जालमा झुण्डिने सुविधा लिइरहेकाहरूले पनि पर्व नआइपुग्दै अर्कैले, अर्कैका लागि बनाएका शुभकामनाका ‘सक्कलबमोजिम नक्कल दुरुस्त’ भनेझैँ गरी बनिबनाउ स्टीकर÷पोस्टर पठाउन उछिना—पाछिना गर्ने प्रचलन हुर्किरहेको छ । यसो गर्नाले आफ्नै मन—भावनाको शुभकामना जाँदैन । त्यसैले यस्तो गर्नु राम्रो होइन । जस्तो जानिन्छ त्यस्तै दुई—चार शब्द आफैले लेखेर दिइने शुभकामनामा आत्मीयता हुन्छ । नत्र पर्वहरू प्रतिको यो आकर्षण कुनै दिन औपचारिकता र विकर्षणमा फेरिन कत्ति बेर लाग्ने छैन । कुनै पनि पर्वको सम्बन्ध मानिसहरूको काम, व्यवसाय, साधनस्रोत र समयको उपलब्धता तथा औचित्य र व्यवस्थापनमा आधारित हुन्छ । हिन्दु समुदायका सबैले सबै गर्ने र मनाउने भए पनि प्रायः व्यापारी समुदायले लक्ष्मीपूजामा जोड दिने, किसानले गाईगोरू, काग, कुकुर पूजामा ध्यान दिने, चिकित्सा क्षेत्रकाले धन्वन्तरीको महत्वमा ध्यान दिने गरिएको पाइन्छ । 

क्रमबद्ध रूपमा भन्नुपर्दा सबैभन्दा पहिला कागका गुणहरूको सम्मान गरिन्छ । शास्त्रमा ‘वायसात् पञ्चशिक्षेत् — कागबाट पाँच कुरा सिक्नू’ भनिएको छ । कागतिहारकै दिन चिकित्सा क्षेत्रका मानिसहरू प्राचीन चिकित्सा प्रणालीका प्रणेता धन्वन्तरी जयन्ती मनाउँछन् । खास गरी आयुर्वेद क्षेत्रले आयुर्वेदका जनक÷औषधि विज्ञानका प्रवर्तक धन्वन्तरीको जन्मोत्सव मनाउने विषयसँग हाम्रो तिहारभित्र स्वास्थ्यको विषयले पनि महत्व पाएको देखिन्छ । तिहारको खानपान पूर्व नै मनाइने धन्वन्तरी जयन्तीलाई ध्यान दिनु भनेको स्वास्थ्यलाई ध्यान दिनुको अर्थमा सम्झन सक्दा सबैको हित हुनेछ । 
चतुर्दशीको दिन कुकुरको पूजा गरी कुकुर तिहार मनाइन्छ । शास्त्रमा ‘षट्शून— अर्थात् कुकुरबाट छ कुरा सिक्नू’ भनिएको छ । 

तिहारका दिनहरूमा सुरुदेखि नै पंक्तिबद्ध दीप बाल्ने प्रावधान छ । तर कात्तिक कृष्ण अमावस्याको रात सर्वाधिक अँध्यारो हुन्छ भन्ने मानिन्छ र यसलाई ‘सुखरात्री’ बनाउन थप दीपावली गरिन्छ । यस दिन बिहान गाईको पूजा गरिन्छ । गाईको पूजा गर्नु भनेको गाईका गुण—विशेषताहरूलाई उच्च महत्व दिनु हो । गाईका अनेकौँ राम्रा गुण—विशेषताहरू छन् । दुध दिने, वृक्ष—वनस्पति तथा अन्न उत्पादनका लागि आवश्यक मल—मुत्र दिने, बाच्छा—बाच्छी दिएर गोवंश वृद्धि गर्ने आदि योगदानका कारण गाईलाई समृद्धिसँग जोडेर हेर्न सकिन्छ । गाईबाट प्राप्त हुने दुधजन्य परिकारहरू स्वास्थ्यको लागि हितकर हुने हुँदा गाईको थप महत्व छ । गाईको गोबरले लिपेको स्थान सफा र किटाणु रहित हुन्छ भन्ने मान्यता रहेको छ । गाईको मूत्र (गोमुत्र—गहुँत) लाई पवित्र एवं स्वास्थ्यवद्र्धक मानिन्छ ।

गाई स्वस्थ तन, स्वच्छ मन, धन दिने पशुप्राणी हो । यसै दिन लक्ष्मीपूजा गरी समृद्धिका लागि, रात्री अर्थात् मानवीय प्रयत्नले अन्धकारलाई जित्ने गरी, उज्यालोले झकिझकाउ जीवनको प्रतीकका रूपमा धेरै दीपहरू बालिन्छ । समृद्धिलाई ऐश्वर्य पनि भनिन्छ र ऐश्वर्यका तीन नाम विभूति, भूति र ऐश्वर्य हुन् भने यसका आठ भेद छन् ः विभूतिभूतिरैश्वर्यमणिमादिकमष्टधा ।। (अमरकोशः) यिनै विषय प्राप्तिको कामना गरेर लक्ष्मीको पूजा गरिन्छ । यी विषयलाई मानिसको जीवनसँग जोडेर हेर्न र बुझ्न प्रयत्न गर्दा मात्र पर्वलाई संस्कृति बनाउन सकिन्छ ।  

प्रतिपदाकोे दिन गोरुको पूजा गरिन्छ । मानिसको जीवनका लागि आवश्यक अन्नादि उत्पादनमा गोरुको भूमिकाको सम्मान नै वास्तवमा गोरु पूजाको अन्तर्वस्तु हो । त्यसै दिन गोवद्र्धन पर्वतको आकार बनाएर पूजा गर्ने प्रचलन पनि रहँदैआएको छ । यस विषयमा पौराणिक कथा पढ्न पाइन्छ । गोकुलमा रहेको गोवद्र्धन पर्वत जनसमुदायको एकताको बलमा इन्द्रको सेखी झार्न श्रीकृष्णले ‘कान्छी औँलाले’ उचालेको मानिन्छ । यसको तात्पर्य योजनाबद्ध कृषिकर्म(उत्पादनशील काम) र एकताबद्ध जनशक्तिले जस्तोसुकै शक्तिशालीलाई परास्त गर्न तथा असम्भवजस्तो लाग्ने काम सफल गर्न सकिन्छ भन्ने हो । 

हाम्रो समाजमा नेवार समुदायका मानिसहरूले यस अवसरमा ‘ह्म पूजा’ अर्थात् आत्मपूजा गर्ने परम्परा प्रचलित छ । यस्तो अन्यत्र कहीँ हुँदैन, यो पनि हाम्रो तिहारको मौलिक पक्ष हो । तिहारको सन्दर्भमा यसलाई पनि हामीले मौलिक सम्पदाको रूपमा लिन आवश्यक छ । तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौँ दिन भातृ द्वितीया हो । यसलाई चलनचल्तीमा भाइटीका भनिन्छ । यस दिन दाजुभाइ–दिदीबहिनीले एकापसमा सप्तरङ्गी टीका लगाउँछन् । माला लाउँछन् । दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिन्छन् । दिदीबहिनीले दाजुभाइलाई उपहार, मसला, गतिला खानेकुरा खुवाउने प्रचलन रहेको छ । यो दाजुभाइ र दिदीबहिनी बीचको अत्यन्त आत्मीय तथा सुमधुर सम्बन्धको पर्व हो । भाइ तिहार वा भाइटीका भनिंदा कतिपयमा बहिनी र दाजुको प्रसंग नभएको जस्तो देखिन्छ, तर त्यस्तो होइन । यस दिनलाई संस्कृत भाषामा ‘भातृ द्वितीया’ भनिन्छ र यसले दाजु र भाइ दुवैलाई बुझाउँछ ।


माथि नै चर्चा गरिसकिएको छ कि तिहार, जसको अवधि पाँच दिनको हुन्छ र यसलाई यमपञ्चक भनिएको छ । यस पर्वको मूलवस्तु यम र यमुना हुन् । यम दाजु र यमुना बहिनी हुन् । शास्त्रीय मान्यता अनुसार यम मृत्युको देवता हुन् । यमको गूढार्थ निषेधात्मक नियम हो । यस्तो नियम कठोर हुन्छ । त्यसैले शास्त्रहरूमा यम र नियम सँगसँगै प्रयोग हुँदैआएका शब्द पनि हुन् । यस अर्थमा यम भन्नाले गर्न नहुने विषय हो । जो यस प्रकार रहेको छ ः अहिंसा (हिंसा नगर्नु) अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य(इन्द्रियलाई छाडा नछोड्नु), अपरिग्रह (लोभी नहुनु) हुन् । त्यस्तै, नियम भन्नाले सत्य, शौच (स्वच्छ), सन्तोष, तपस (कठोर परिश्रम), स्वाध्याय (नियमित अध्ययन), ईश्वरप्रणिधान (ईश्वरप्रति समर्पण) आदि भनिएको छ । ‘दीपावली’ले यी सन्देश दिँदैनन् । 

हुन त शास्त्रहरूका आ—आफ्नै कालखण्ड भएको हुनाले सबैमा मतैक्यता पाइँदैन । परम्परा पनि ठ्याक्कै मिल्छ भन्ने छैन । कठोरता, सहजता पनि समयसापेक्ष भएका छन् । तथापि, शास्त्रीय मान्यता अनुसारका चाडपर्वहरूले जीवनका सबैपक्ष समेटेका हुन्छन् । तिहार वा यमपञ्चक जीवनका  धेरै पक्ष समेटिएको विशिष्ठ पर्व हो । आफै बुझौँ र विश्लेषण गरौँ त–के दीपावली÷दिवालीले यतिका धेरै विषय वहन गर्न सक्छ ? सक्दैन । त्यसैले दीपावली होइन, पाँचै दिन समेटिने ‘तिहार’ भन्नु सान्दर्भिक हुन्छ । 
परिश्रम, पराक्रम, उत्पादन, प्रेम, आपूm स्वयं र स्वास्थ्य, सद्भावको माध्यमबाट सबैका गुण बटुल्ने र गुणहरूको सम्मान गर्ने अनि जीवन उजेल्ने पर्व तिहार हो । नेपालको मौलिक पर्व तिहारलाई दीपावलीमा सीमित नपारौँ । सबैका लागि सार्थक होस् । 
                                शुभ तिहार ! शुभ यमपञ्चक !! 
 

 


 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update